काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई राजनीतिक प्रतिशोध साध्ने र विपक्षीलाई फसाउने षड्यन्त्रको रूपमा आलोचना गर्नुभएको छ। उहाँले आयोगलाई कुनै पनि हालतमा मान्यता नदिने र आफूले बयान पनि नदिने स्पष्ट घोषणा गर्नुभएको छ।
बुधबार एमालेले आयोजना गरेको दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोगको वैधता र निष्पक्षतामाथि नै गम्भीर प्रश्न उठाउनुभयो। आक्रोशपूर्ण भाषामा बोल्दै उहाँले भन्नुभयो, “यो आयोगको मुख्य उद्देश्य केपी ओली र रमेश लेखकलाई फसाउने हो। यस्ता आयोगलाई हामी मान्यता दिँदैनौं। अरूले बयान दिए पनि म बयान दिन्न र सम्पत्ति विवरण पनि भर्दिन।”



अध्यक्ष ओलीले आयोगले नयाँ दलका नेताहरू र सुरक्षा निकायलाई भने छानबिन नगरी केवल पुराना राजनीतिक नेतृत्वलाई लक्षित गरेको आरोप लगाउनुभयो। उहाँले वर्तमान सरकारलाई ‘पूर्वाग्रहको पोको’ को संज्ञा दिँदै राज्यशक्ति दुरुपयोग गरेर आफूलाई तर्साउन खोजिएको बताउनुभयो।
“सरकारले जे गर्न सक्छ गरोस्, म तयार छु,” ओलीले चुनौती दिँदै भन्नुभयो। उहाँले आयोगलाई ‘देशद्रोही क्रियाकलाप गर्ने प्रायोजित संस्था’ भन्दै यसको पछाडि विपक्षी दलहरूलाई राजनीतिक रूपमा समाप्त पार्ने खेल रहेको दाबी गर्नुभयो।
सम्बोधनका क्रममा ओलीले आफ्नो विगतको सम्पत्ति र राजनीतिक जीवनमाथि निरन्तर प्रहार भइरहेकोमा आक्रोश व्यक्त गर्नुभयो। व्यङ्ग्य गर्दै उहाँले भन्नुभयो, “मेरो सम्पत्तिमा आगो लगाएर खरानी बनाइसके, अब खरानी नै उठाएर लैजानुस्। सम्पत्ति विवरण चाहियो भने त्यही खरानी भर्नुस्।”













