काठमाडौं । गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका–१ स्थित दुल्लभ माध्यमिक विद्यालय, घ्याम्पेशालका बिध्यार्थी प्रशान्त पाण्डेले काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति परीक्षामा तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।

पाण्डेले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३.८४ जीपीए प्राप्त गरेका थिए। उत्कृष्ट शैक्षिक उपलब्धिपछि उनले काठमाडौं महानगरपालिकाको छात्रवृत्ति कार्यक्रममा पनि उल्लेखनीय सफलता हासिल गरेका हुन्।

महानगरपालिकाद्वारा सञ्चालित उक्त छात्रवृत्ति परीक्षामा २२ हजार २० जना विद्यार्थी सहभागी भएका थिए। प्रतिस्पर्धात्मक परीक्षामा प्रशान्त पाण्डेले ९० अंक प्राप्त गर्दै तेस्रो स्थान सुरक्षित गरेका छन्।

परीक्षामा प्रथम स्थान हासिल गर्ने विद्यार्थीले ९२ अंक तथा द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थीले ९१ अंक ल्याएका थिए। प्रशान्तको यो सफलता गोरखा जिल्लासहित दुल्लभ माध्यमिक विद्यालय र स्थानीय समुदायका लागि गर्वको विषय बनेको छ।

उनको उपलब्धिले ग्रामीण क्षेत्रका विद्यार्थीहरू पनि मेहनत, लगनशीलता र उचित अवसर पाए उत्कृष्ट नतिजा हासिल गर्न सक्षम छन् भन्ने सन्देश दिएको छ। विद्यालय परिवार, स्थानीयवासी तथा शुभेच्छुकहरूले पाण्डेलाई बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय