गोरखा, १९ जेठ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको पालिकास्तरीय अधिवेशन पूरा भएको छ। सोमबारसम्म जिल्लाका सबै पालिकाहरूमा ११ सदस्यीय कार्यसमिति गठन भइसकेको जिल्ला सभापति सुवर्ण रोकायाले बताएका छन्।
चुमनुब्री गाउँपालिकामा धावा ग्याल्जेन लामाको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ। गोरखा नगरपालिकामा शिशुबाबु प्रधान (शिशिर) को संयोजकत्वमा नगर समिति गठन भएको छ भने पालुङटार नगरपालिकामा आनन्दराज पाण्डेको नेतृत्वमा समिति बनेको छ।



सहिद लखन गाउँपालिकाको सभापतिमा पुष्पाखर लामिछाने र भिमसेनथापा गाउँपालिकाको सभापतिमा रामचन्द्र पोखरेल चयन भएका छन्। दुवै इन्जिनियर हुन्। गण्डकी गाउँपालिकामा नवीन देवकोटा संयोजक छन्।
यस्तै, बारपाक सुलिकोटमा बुद्धिबहादुर गुरुङ, अजिरकोटमा जीवनाथ ढकाल, सिरानचोकमा खिलबहादुर गुरुङ र आरुघाट गाउँपालिकामा कृष्णबहादुर गुरुङ संयोजक चयन भएका छन्। उत्तरी गोरखाको धार्चे गाउँपालिकामा किसान गुरुङको संयोजकत्वमा कार्यसमिति गठन गरिएको छ।
पालिकास्तरीय अधिवेशन सम्पन्न भएसँगै रास्वपा अब जिल्ला अधिवेशनको तयारीमा जुटेको छ। जिल्ला अधिवेशन यही जेठ २४ गते हुने भएको छ।
केन्द्रीय कार्यालयले गोरखा अधिवेशनलाई सफल बनाउन गोरखा क्षेत्र नम्बर १ का सांसद सुधन गुरुङ, क्षेत्र नम्बर २ का सांसद तथा महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य तथा समानुपातिक सांसद एलिजा गुरुङ, सांसद शोभा खनाल, ध्रुवप्रसाद दाहाल, कृष्ण थापा र हरिशरण आचार्यलाई जिम्मेवारी दिएको छ्।
रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनमा प्रथम महाधिवेशन गर्ने तयारी गरेको छ्।












