गोरखा १५ जेठ, भीमसेनथापा गाउँपालिकाले गाउँबस्तीका नागरिकलाई सहज इन्टरनेट पहुँच उपलब्ध गराउने उद्देश्यले सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ। सेवा र सुविधाको अभावका कारण युवाहरू सहर तथा विदेश पलायन हुने क्रमलाई कम गर्ने लक्ष्यसहित गाउँपालिकाले फ्रि वाइफाइ जोन निर्माणको प्रक्रिया अघि बढाएको हो।

गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराका अनुसार धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्र, चोक, चौतारा, पार्क तथा बजारजस्ता मानिसहरूको बढी जमघट हुने स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ। टोल विकास संस्थाहरूले सिफारिस गरेका स्थानहरूमा प्रविधि जडानको काम यसै वर्षदेखि सुरु गरिने उनले जानकारी दिए।

गाउँपालिकाले आवश्यक स्थानको छनोटका लागि टोल विकास संस्थाहरूसँग निवेदन माग गरिसकेको छ। प्राप्त माग र त्यसको औचित्य अध्ययनपछि उपयुक्त स्थानहरूमा फ्रि वाइफाइ सेवा विस्तार गरिने जनाइएको छ।

आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत बजेटअन्तर्गत कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। पहिलो वर्ष प्रविधि जडान र सेवा सञ्चालनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकाले लिनेछ भने दोस्रो वर्षदेखि सम्बन्धित टोल विकास संस्थाले सेवा निरन्तर सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।

गाउँपालिकाको यो पहलले ग्रामीण क्षेत्रका नागरिकलाई सूचना प्रविधिमा पहुँच बढाउनुका साथै गाउँमै बसेर विभिन्न सेवा र अवसरसँग जोडिन सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय