ललितपुरको हरिसिद्धिमा एक अचम्मको घटना सार्वजनिक भएको छ। गत वर्ष ट्याक्सी चालकमाथि कुकुरी प्रहार गरी लुटपाट गर्न खोज्ने व्यक्ति नै पछि उही पीडितको घरमा डेरा लिएर बसेको पाइएको छ।
प्रहरीका अनुसार, खोटाङका २८ वर्षीय सिमन राई र सप्तरीका २६ वर्षीय बलकुमार बिष्ट यस घटनामा संलग्न थिए। गत वर्ष भदौ २ गते उनीहरूले बद्री नगरकोटीको ट्याक्सीमा कुकुरी प्रहार गरी लुट्ने प्रयास गरेका थिए। घाइते नगरकोटीलाई स्थानीयले अस्पताल पुर्याएका थिए भने दुवै अभियुक्त फरार भएका थिए।



प्रहरीले उनीहरूलाई पक्राउ गरे पनि भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा उनीहरू थुनाबाट भागेका थिए। त्यसपछि उनीहरू लामो समयदेखि फरार थिए।
तर, आश्चर्यजनक रूपमा सिमन राई फेरि पीडित बद्री नगरकोटीकै घरमा डेरा खोज्दै पुगे। नगरकोटीले उनलाई चिनेनन् र कोठा भाडामा दिए। सिमन राई तीन दिनसम्म त्यही घरमा बसे।
तीन दिनपछि परिचयपत्र माग्दा शंका लागेपछि नगरकोटीले प्रहरीलाई खबर गरे। प्रहरीले अनुसन्धान गर्दा उक्त व्यक्ति गत वर्ष कुकुरी प्रहार गर्ने सिमन राई नै भएको पुष्टि भयो। प्रहरीले उनलाई नगरकोटीकै घरबाट पुनः पक्राउ गरेको छ।
यो घटनाले स्थानीयवासीमा चकित बनाएको छ। प्रहरीले सिमन राईलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको छ भने बलकुमार बिष्टको खोजी जारी रहेको जनाएको छ।












