काठमाडौं । गणतन्त्र घोषणा भएको १९ वर्षपछि प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले नयाँ राजनीतिक थिति बसालेको भन्दै चर्चा सुरु भएको छ । गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्ने लामो समयदेखिको परम्परा तोड्दै यसपटक सरकारले राष्ट्रपतिलाई सम्बोधनको जिम्मा दिएको छ।
गणतन्त्रको प्रमुख प्रतीक राष्ट्रपतिलाई मान्दै सरकारले औपचारिक पत्रमार्फत सम्बोधनका लागि आग्रह गरेको थियो । सोही आग्रहअनुसार शुक्रबार टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका हुन् ।



राष्ट्रपति पौडेलले सम्बोधनका क्रममा गणतन्त्रको संस्थागत विकास, लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको कार्यान्वयनमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका थिए । उनले जनताको बलिदानबाट प्राप्त व्यवस्थालाई थप सुदृढ बनाउन राजनीतिक दल तथा राज्यका निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
यसअघि गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको थियो । तर यसपटकको निर्णयलाई सरकारले गणतान्त्रिक मूल्य र संस्थागत सम्मानसँग जोडेर व्याख्या गरेको छ । राजनीतिक वृत्तमा भने यसलाई नयाँ अभ्यासका रूपमा हेरिएको छ ।












