काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५० लाखभन्दा कम मूल्यका विद्युतीय सवारी साधन (ईभी) को मूल्य घट्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ५० लाखभन्दा कम मूल्यका ईभीको मूल्य घट्ने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री बालेन शाहले ५० लाखभन्दा कम मूल्यका सवारीको कर नबढाउन निर्देशन दिएको उल्लेख गर्दै उनले भने, “५० लाखभन्दा घटिका ईभीमा मूल्य घट्छ यसपालि । २० लाख सीआईएफ (लागत, बीमा र ढुवानी खर्च) कारोबार मूल्य भएका गाडीमा सबै ट्याक्सहरू थुपार्दा पनि ४२/४३ लाखमा आउन सक्छ ।”

अर्थमन्त्री वाग्लेले ईभीका लागि सडक विकास शुल्क आधा र भन्सार महसुल सबै मूल्यका ईभीमा २० प्रतिशत कायम भएको जानकारी दिए । उनले भ्याट भने १३ प्रतिशत नै लाग्ने स्पष्ट पारे ।

अब विलासिता र प्रगतिशीलताको सिद्धान्तलाई मानेर सीआईआईएफ(स्वच्छ पूर्वाधार लगानी शुल्क) लगाएर अघि बढ्नु पर्ने उनले औँल्याए । उनका अनुसार यसले ईभीमा भइरहेको अस्वच्छ प्रतिस्पर्धालाई कम गर्नेछ ।

सार्वजनिक विद्युतीय यातायातको अवधारण विकसित हुँदै जाँदा देशका विभिन्न प्रमुख सहरहरूमा विद्युतीय स्टेसनहरू निर्माण गरिने उनको भनाइ थियो । ‘काठमाडौँ भिजन २०४०’अन्तरर्गत रहेर उपत्यकामा पनि विद्युतीय सवारी साधनलाई प्राथमिकता दिइने उनको भनाइ छ ।

सरकारले ल्याएको आर्थिक विधेयकले विद्युतीय गाडीमा यसअघि मोटर पावरका आधारमा लाग्दै आएको अन्तःशुल्क हटाएको छ भने त्यसको ठाउँमा मूल्यमा आधारित स्वच्छ पूर्वाधार विकास शुल्क लगाएको छ । जसअनुसार २० लाख रुपैयाँसम्म सीआईएफ भएका विद्युतीय गाडीमा यस्तो शुल्क २.५ प्रतिशत मात्रै लाग्नेछ ।

त्यस बाहेक यस्तो शुल्कको दर सीआईएफ मूल्य २० लाखदेखि ३० लाख भएका गाडीमा २० प्रतिशत, ३० देखि ४० लाखका ईभीमा ३५ प्रतिशत, ४० देखि ५० लाखसम्मका लागि ९० प्रतिशत र ५० लाखभन्दा माथिका लागि १३० प्रतिशत हुने उल्लेख छ ।

यसअघि ५० किलोवाटसम्मका ईभीमा ५ प्रतिशत र ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका गाडीमा १५ प्रतिशत, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ईभीमा २० प्रतिशत, २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका गाडीमा ३५ प्रतिशत अन्तःशुल्क लाग्दै आएको थियो । यसैगरी ३०१ किलोवाटभन्दा माथिका ईभीमा ५० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था थियो । यो सबै अन्तःशुल्क लाग्ने व्यवस्था खारेज गरिएको छ ।

Source: TechPana

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय