काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ले नेपाली नागरिकको दैनिक जीवनस्तर वास्तविक र देखिने गरी सुधार गर्न आफ्नो नेतृत्वको सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा सदस्य राष्ट्रका राजदूतहरू र काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान समयको जिम्मेवारी र चुनौतीप्रति सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनले सुशासन, पारदर्शिता र समावेशी आर्थिक समृद्धिका पक्षमा स्पष्ट जनादेश दिएको बताउनुभयो। उहाँले नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पार्दै लोकतान्त्रिक मूल्यमान्यता, राजनीतिक स्थिरता र सुशासनप्रति सरकार दृढ रहेको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री शाहले “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन” भन्दै नेपालको नीति निर्देशन स्थिर, स्पष्ट र अनुमानयोग्य हुने बताउनुभयो। उहाँले विश्व बजारबाट लाभ लिन, वैदेशिक लगानी आकर्षित गर्न, नवप्रवर्तनलाई प्रोत्साहन गर्न तथा दिगो विकासका लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो।

उहाँले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने बताउँदै छिमेकी राष्ट्र, विकास साझेदार र मित्रराष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका आधारमा अघि बढ्ने स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री शाहले नेपालको विकास र समृद्धिमा सहयोग पुर्‍याउँदै आएका विकास साझेदार राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै व्यापार, लगानी, हरित ऊर्जा, जलवायु परिवर्तन तथा पर्यटनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभयो।

भेटका क्रममा उहाँले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै शान्ति स्थापना गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

उक्त अवसरमा युरोपियन युनियन तथा अन्य देशका राजदूतहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गर्दै प्रधानमन्त्री शाहलाई नयाँ सरकारको नेतृत्वका लागि बधाई दिएका थिए। साथै, आर्थिक वृद्धि, सुशासन र समृद्धिका क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी विस्तार गर्न आफूहरू तयार रहेको धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय