इन्डोनेसियामा विवाह नगरेको विषयमा बारम्बार प्रश्न गर्दै जिस्क्याएको भन्दै एक व्यक्तिले आफ्नै ६० वर्षीय छिमेकीको कुटपिट गरी हत्या गरेका छन्।

घटना उत्तर सुमात्राको दक्षिण तापनुली जिल्लामा भएको हो। प्रहरीका अनुसार मृतक असगिम इरियान्तो ६० वर्षीय सेवानिवृत्त निजामती कर्मचारी थिए।

प्रहरीले दिएको जानकारीअनुसार जुलाई २९ को राति करिब ८ बजे ४५ वर्षीय पर्लिन्डुङ्गन सिरेगर काठको टुक्रा बोकेर असगिमको घर पुगेका थिए। त्यहाँ पुगेपछि उनले कुनै पूर्वसूचना नदिई असगिममाथि आक्रमण गरेका थिए।

आक्रमणबाट बच्न असगिम घरबाट बाहिर निस्केर सडकतर्फ भागेका थिए। तर, सिरेगरले उनलाई पछ्याउँदै टाउकोमा काठको टुक्राले प्रहार गरेको प्रहरीको भनाइ छ। असगिम भुइँमा ढलेपछि पनि आक्रमण जारी राखिएको बताइएको छ।

स्थानीय बासिन्दाले हस्तक्षेप गरेर घाइते असगिमलाई अस्पताल पुर्‍याउने प्रयास गरेका थिए। तर, अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले करिब एक घण्टामै आरोपित सिरेगरलाई नियन्त्रणमा लिएको थियो। प्रारम्भिक सोधपुछमा उनले असगिमले आफूलाई ‘अहिलेसम्म किन विवाह नगरेको?’ भन्दै पटक–पटक जिस्क्याउने गरेको र त्यसबाट आफू अपमानित तथा मानसिक रूपमा पीडित भएको बताएका छन्। उनले रिसको आवेगमा हत्या गर्ने उद्देश्यसहित आक्रमण गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार हत्या हुनुअघि पनि दुई छिमेकीबीच विवाद हुँदै आएको थियो। उनीहरूबीच एक–अर्काको खोरमा कुखुरा पसेको विषयलाई लिएर समेत पटक–पटक झगडा हुने गरेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय