काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका अध्यक्ष दुर्गा प्रसाईँले बालेन शाह नेतृत्वको सरकारले सुकुम्वासी बस्ती हटाउने, सडक किनारका साना व्यवसायीलाई विस्थापित गरेको भन्दै आपत्ति जनाएका छन्।
भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले खोला किनार तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुम्वासीहरूको बासस्थान हटाउने कार्यप्रति असन्तुष्टि व्यक्त गरे। उनका अनुसार यस्ता कदमले आर्थिक रूपमा कमजोर वर्गको जीवनमा थप कठिनाइ सिर्जना गरेको छ।



प्रसाईँले स्थानीय तहको नेतृत्वमा आएको परिवर्तनपछि सुकुम्वासी बस्ती हटाउने प्रक्रिया अघि बढ्ने विषय आफूले पहिले नै उठाउँदै आएको दाबी गरे। उनले राजनीतिक दलहरूलाई यसबारे सचेत गराउने प्रयास गरेको पनि बताए।
उनले वर्तमान आर्थिक तथा सामाजिक नीतिहरूले निम्न आय भएका नागरिक, साना व्यवसायी तथा निजी क्षेत्रलाई दबाबमा पार्ने तर्क गरे। विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको योगदान उल्लेख गर्दै सरकारले उनीहरूलाई प्रोत्साहन गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे।
निजी अस्पताल तथा विद्यालयमा थप करको व्यवस्था गरिए सर्वसाधारणमाथि आर्थिक भार बढ्न सक्ने उनको भनाइ थियो। साथै, स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक रहेको उनले बताए।
प्रसाईँले सरकारका केही नीतिहरूले गरिबी न्यूनीकरणभन्दा पनि कमजोर वर्गलाई विस्थापित गर्ने जोखिम बढाएको आरोप लगाउँदै आर्थिक गतिविधि र निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न आग्रह गरे।












