काठमाडौँ, जेठ १८ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज पाँचदिने भारत भ्रमणका लागि प्रस्थान गर्ने भएका छन्। उनी दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीतर्फ जाने कार्यक्रम रहेको जनाइएको छ।

भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा हुन लागेको यस भ्रमणको उद्देश्य दुई दलबीच औपचारिक सम्बन्ध तथा संवादको प्रारम्भ गर्नु रहेको बताइएको छ। भ्रमणका क्रममा दुवै दलका नेताहरूबीच संगठन सञ्चालन, लोकतान्त्रिक अभ्यास तथा जनतामुखी राजनीतिक कार्यशैली सम्बन्धी अनुभव आदानप्रदान हुने अपेक्षा गरिएको छ।

रास्वपा र भाजपा दुवैले आइतबार छुट्टाछुट्टै विज्ञप्तिमार्फत भ्रमणबारे जानकारी दिएका थिए। विज्ञप्तिअनुसार लामिछानेले भारतमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक व्यक्तित्वहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।

भ्रमण अवधिमा उनले भाजपाका अध्यक्ष नीतिन नवीनसहित विभिन्न शीर्ष नेताहरूसँग छलफल गर्नेछन्। साथै भारतमा बसोबास गर्ने नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय गरिएको छ।

व्यक्तिगत भ्रमणका क्रममा लामिछाने अयोध्या जाने कार्यक्रमसमेत रहेको बताइएको छ। उनी जेठ २२ गते स्वदेश फर्कने तालिका छ।

लामिछानेको भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र अविनाश आचार्य (प्रदीप) सहभागी रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय