काठमाडौँ । सामान्यतया एक औसत वयस्कले दिनको करिब ७.५ घण्टा स्क्रिन (फोन, ल्यापटप, गेम कन्सोल वा टिभी) मा बिताउने गर्छन् । यस्तो समय विशेष गरी अनलाइन काम गर्नेहरूका लागि अझ बढी हुन सक्छ ।

स्क्रिन टाइमका बारेमा चिन्ता बढ्दै जाँदा यसलाई पूर्ण रूपमा नराम्रो मान्ने प्रवृत्ति छ । तर विज्ञहरूका अनुसार सबै स्क्रिन टाइम एकैनासका हुँदैनन् । हामीले कसरी र कुन उद्देश्यले स्क्रिन प्रयोग गर्छौँ भन्ने कुराले फरक पार्छ ।

उदाहरणका लागि डुओलिङ्गोमा एक घण्टा भाषा सिक्नु र टिकटकमा अर्थहीन भिडिओहरू हेर्नु एउटै होइन । फेसबुकमा कसैलाई जिस्क्याउनु र साथीसँग भिडिओ कल गर्नुमा ठुलो अन्तर छ ।

मुख्य कुरा हामी कत्तिको सचेत भएर फोन चलाउँछौँ भन्ने हो । यदि तपाईँ बिना उद्देश्य एउटा एपबाट अर्को एपमा गइरहनु हुन्छ भने तपाईँ एल्गोरिदमको शिकार भइरहनु भएको हुन सक्छ ।

डिजिटल वातावरणमा हाम्रो मस्तिष्क अभ्यस्त नहुनुलाई विज्ञहरू ‘इभोलुसनरी मिसम्याच’ (विकासवादी असन्तुलन) भन्छन् । प्रविधिले समस्या समाधान पनि गर्छ र नयाँ समस्या पनि निम्त्याउँछ ।

यदि तपाईँ आफ्नो नियन्त्रणमा रहेर स्क्रिन चलाउनुहुन्छ भने यसले फाइदा गर्छ । तर यदि तपाईँ छोड्नै नसक्ने गरी चलाउनुहुन्छ भने यसले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ ।

त्यसैले यहाँ हामी तपाईँलाई डिजिटल बानी सुधार गर्ने केही सरल उपायहरू बताउँदै छौँ ।

१. निष्क्रिय स्क्रोलिङको सट्टा सक्रिय गेमिङ गर्नुहोस्

गेमिङलाई प्रायः नराम्रो मानिन्छ । तर अनुसन्धानले देखाएको छ कि पोकेमोन गो, रेड डेड रिडेम्पसन र एनिमल क्रसिङ जस्ता गेमहरूले समस्या समाधान गर्ने क्षमता र मस्तिष्कको लचकता (neuroplasticity) बढाउँछन् ।

गेम खेल्नु आफैँमा नराम्रो होइन । तर खेल्नुको पछाडिको कारण महत्त्वपूर्ण हुन्छ । यदि तपाईँ रहरले खेल्नुहुन्छ भने यसले फाइदा गर्छ । तर यदि कुनै पुरस्कार जित्ने वा अरूभन्दा पछि परिने डरले खेल्नुहुन्छ भने यसले तनाव बढाउँछ । खेलले वयस्कहरूमा ‘कोर्टिसोल’ हर्मोन घटाउन र मुड सुधार्न मद्दत गर्छ ।

२. भाइरल भिडिओको सट्टा मस्तिष्कको कसरत गर्ने वर्ड पजल

टिकटक हेर्नुको सट्टा वर्डल (Wordle) वा वर्डिपली (Wordiply) जस्ता शब्दसँग सम्बन्धित पजलहरू खेल्नुहोस् । यसले स्मरणशक्ति, एकाग्रता र सोच्ने गति बढाउँछ । निष्क्रिय रूपमा भिडिओ हेर्नुभन्दा यस्ता खेलहरूले मस्तिष्कलाई सक्रिय राख्छन् र शब्दको ज्ञान पनि बढाउँछन् ।

३. एक्लोपनको सट्टा समुदाय र सम्बन्ध

प्रविधिले टाढा रहेका प्रियजनहरूसँग जोडिन मद्दत गर्छ । ह्वाट्सएप, इन्स्टाग्राम वा रेडिट जस्ता प्लेटफर्महरूले विशेष गरी अल्पसंख्यक वा सीमान्तकृत समूहका मानिसहरूलाई आफ्नो समुदाय फेला पार्न र एक्लोपन हटाउन सहयोग पुर्‍याउँछन् ।

कतिपय वयस्कहरूले एक्लोपन महसुस गर्ने गरेको अवस्थामा डिजिटल माध्यमबाट आफ्नो समूह भेट्टाउनु निकै शक्तिशाली कुरा हो । तर, विज्ञहरूका अनुसार यी प्लेटफर्महरू सकारात्मक उद्देश्यका लागि प्रयोग गर्नुपर्छ, न कि अपरिचितसँग झगडा गर्न ।

४. सामाग्री उपभोग गर्नुको सट्टा सिर्जना गर्नुहोस्

सन् २०१० मा ७२ वर्षको उमेरमा कलाकार डेभिड हक्नीले आईप्याडलाई क्यानभासको रूपमा प्रयोग गर्न थाले । ब्रस वा क्यानभा जस्ता एपहरू भिडिओ सम्पादन वा कोडिङले मानिसलाई सिर्जनशील बनाउँछन् ।

यस्तो काम गर्दा मानिस फ्लोको अवस्थामा पुग्छ, जहाँ समय बितेको पत्तै हुँदैन र तनावको स्तर घट्छ । सिर्जनात्मक कार्यले आत्म-सम्मान बढाउन र नयाँ कुरा सिक्ने क्षमतालाई तिखार्न मद्दत गर्छ ।

५. नकारात्मक सामाग्रीको लतको सट्टा नयाँ सीप सिक्नुहोस्

डिजिटल उपकरणहरूले शिक्षालाई जहाँसुकै र जति बेला पनि सम्भव बनाएका छन् । आधारभूत सीपहरू बारम्बार अभ्यास गर्न डिजिटल उपकरणहरू निकै उपयोगी हुन्छन् । डुओलिङ्गो, सिम्प्ली पियानो वा स्किलशेयर जस्ता एपहरूले सिक्ने प्रक्रियालाई रमाइलो बनाएका छन् ।

न्युरोवैज्ञानिक डा. तामारा रसेलका अनुसार यस्तो गेमिफिकेसनले विशेष गरी एकाग्रतामा समस्या भएका व्यक्तिहरूलाई सिक्नमा मद्दत गर्छ ।

डिजिटल उपकरणको सही प्रयोगका लागि आफूलाई कस्तो वातावरणमा सिक्न सजिलो हुन्छ र कुन उपकरण कुन कामका लागि उपयुक्त छ भन्ने कुरा बुझ्न जरुरी छ । सचेत भएर गरिएको स्क्रिनको प्रयोगले तपाईँको जीवनलाई अझ समृद्ध बनाउन सक्छ ।

Source: Techpana

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय