काठमाडौं । रास्वपा सांसद तथा पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेका विभिन्न आरोपबारे छानबिन गर्न गठित समितिले उनी निर्दोष रहेको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ ।

समितिका अध्यक्ष अच्युतमप्रसाद भण्डारीको नेतृत्वमा गठित छानबिन समितिले शुक्रबार प्रधानमन्त्रीलाई ४५ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो । समितिले गुरुङको आयव्यय, सुनको कारोबार, विभिन्न कम्पनीमा गरेको लगानी र त्यसको स्रोतसमेतको विस्तृत अध्ययन गरेको थियो ।

प्रतिवेदन बुझाएपछि अध्यक्ष भण्डारीले भने, “सुधन गुरुङका विषयमा बाहिर जे-जे प्रश्न उठेका थिए, ती सबै विषय समितिले प्रमाणसहित जाँचेको छ । हामीले जे देख्यौं, त्यही प्रतिवेदनमा उल्लेख गरेका छौं । प्रतिवेदन सार्वजनिक गर्न पनि सिफारिस गरेका छौं ।”

सरकारले अनुसन्धान गरिरहेका व्यक्तिहरूले सञ्चालन गरेको विवादास्पद कम्पनीको सेयर खरिदमा गुरुङको नाम जोडिएपछि यो छानबिन समिति गठन गरेको थियो । उच्च स्रोतका अनुसार, समितिले सेयर खरिदको विषयमा कुनै कैफियत नदेखिएको र गुरुङलाई विवादमा तानिएका मुख्य विषयमा निर्दोष पाएको छ ।

समितिले गुरुङको सम्पत्ति शुद्धीकरण, लगानीको वैधता र अन्य सम्बन्धित विषयमा पनि गहन छानबिन गरेको थियो । प्रतिवेदनमा सबै विवरण प्रमाणसहित राखिएको समितिले जनाएको छ ।

यो प्रतिवेदनले पूर्वगृहमन्त्री गुरुङलाई लागेका आरोपमा सफाइ दिएको छ । प्रतिवेदन सार्वजनिक भएपछि थप स्पष्टता आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय